प्रेश विज्ञप्ती
मिति २०६५ जेठ १ गत्ते वुधवार ।
आज मिति २०६५ जेठ १ गत्ते वुधवारका दिन सम्माननीय प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोईरालाज्यूबाट एक भव्य समारोहको बीच Government Integrated Data & Training Center (GIDTC) को शिलान्यास गर्नु भयो। विद्युतीय-सरकारको मेरु दण्ड र सूचना तथा सँचार प्रविधिको मस्तिष्कको रुपमा मानिने उक्त डाटा सेन्टर कोरियाली अन्तराष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक अनुदान तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रको पहलमा स्थापना हुन लागेको हो। सूचना तथा सँचार प्रविधिका अत्याधुनिक उपकरणहरुले सुसज्जित उक्त डाटा केन्द्रको स्थापना गर्न KOICAले ३५ लाख अमेरिकी डलर (झण्डै २३ करोड रूपैयाँ) लगानी गर्नेछ।
छ महिना भित्र भवन निर्माण कार्य पुरा भई डाटा सेन्टर स्थापना भए पछि सबै निकायका डाटाहरु तथा कम्प्यूटर सर्भरहरु यस केन्द्रमा स्थानान्तरण गरि सुरक्षित भण्डारण गर्नु अनिवार्य हुनेछ। कागजमा लिपिबद्द गरेर आ-आफ्नो कार्यालयमा सुरक्षित गरी राखेका राज्यका सबै खाले महत्वपूर्ण तथा सम्बेदनशील कागजातहरु सबै विद्युतीय प्रणालीबाट डाटा सेन्टरमा भण्डारण गरिनेछ। यसर्थ प्राकृतिक प्रकोप लगायत मानविय क्षतिबाट समेत अति सुरक्षित हुनु पर्ने उक्त डाटा सेन्टर Reinforced Concrete Structure मा १,६०१.५० बर्ग मिटर क्षेत्रफल भएको २ तले भवन गृह मन्त्रालय नजिकैको २,०३४.७६ बर्ग मिटर क्षेत्रफलको जग्गामा निर्माण हुनेछ।
कोरिया टेलिकमले Bird’s Eye View नामाकरण गरि डिजाईन गरेको यस अन्तराष्ट्रिय मापदण्ड अनुसारको डाटा सेन्टर सूचना तथा सँचार प्रविधिका अत्याधुनिक उपकरणहरुले सुसज्जित हुनेछ। यी अत्याधुनिक उपकरणहरु Operation गर्न कोरिया टेलिकमले नै आवश्यक जनशक्ति तयार गरि दिने योजना छ।
कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रमा विद्यूतिय-सरकार कार्यन्वयन गर्नु आजको विश्वको एक महत्वपूर्ण चुनौतिका साथै २१ औँ शताब्दीको भूमण्डलिय चाप (Global Pressure) पनि हो । विद्यूतिय-सरकार कार्यान्वयन गर्नको लागि अति आबश्यक पर्ने आधारभूत कुराहरु मध्य डाटा सेन्टर एक हो र यसको स्थापनालाई विद्यूतिय-सरकारको शिलान्यासकोरुपमा पनि लिन सकिन्छ ।